राजनीतिक समीकरण अहिल्यै फेरिँदैन : प्रधानमन्त्री दाहाल ।।।
2023-02-02मानव बेचविखन आरोपमा दुई म्यानपावर एजेन्ट पक्राउ !!!
2023-02-02
किसानलाई चुनावभन्दा खेतीको चिन्ता ।।।

किसानलाई चुनावभन्दा खेतीको चिन्ता
प्यूठान — लगातारको झरीले समयमै धान भित्र्याउन नपाएपछि जिल्लाका किसान चिन्तित थिए । वर्षा रोकिएपछि किसानहरू धान भित्र्याउने चटारोमा छन् । ‘२० मुरीजति धान फल्छ,’ प्यूठान–१० सारिबाङका भवानीप्रसाद पराजुलीले भने, ‘झरीले चिन्तित बनाएको थियो । धन्न भित्र्याउन दियो ।’ केही दिनदेखि उनी खेतमै व्यस्त छन् । धान काट्ने, चुट्ने, दाइँ हाल्ने र भित्र्याउने काम भइरहेको उनले बताए ।
अहिले झिमरुक फाँटभरि किसान धान भित्र्याउन सक्रिय छन् । ‘फेरि पानी पर्यो भने काटेर सुकाएको धान बर्बाद हुन्छ,’ पराजुलीले भने, ‘त्यसैले हतार–हतार काम गर्नुपरेको छ । तिहारअघि नै सक्ने गरी काम गरेका छौं ।’ तिहार मुखैमा आइसकेकाले त्यसअघि नै धान भित्र्याएर आनन्दले तिहार मान्ने धोको रहेको उनले सुनाए । दसैंको समयमा परेको पानीले राम्रोसँग रमाइलो गर्नै नपाएको उनले बताए । ‘खेतमा धान डुबेको छ त्यो देखीदेखी कहाँ घरमा रमाइलो गर्न सकिने रहेछ र !,’ उनले भने, ‘धान राम्रै फलेको छ, निकै उत्साहित छौं ।’
प्यूठानको झिमरुक फाँट र आसपासका खेतहरूमा किसानहरू अहिले धान भित्र्याउन जुटेका छन् । फाँटभरि अहिले किसान भेटिन्छन् । एकातर्फ तिहार घर आँगनमै आइसकेको छ । अर्कोतर्फ गाउँघरमा चुनावको सरगर्मी पनि बढेको छ । किसानलाई भने धान सकुशल भित्र्याउन पाए हुन्थ्यो भन्ने लागेको प्यूठान नगरपालिका–७ पुण्यखोलाका किसान राजु नेपालीले बताए । ‘अहिले किसानलाई चुनाव लागेकै छैन, खेतमा पाकेको धान छोडेर चुनावमा हिँड्न पनि भएन,’ उनले भने, ‘वर्षभरि खाने यही हो, नेताका पछि लागेर परिवारको पेट भरिँदैन ।’ देशमा जति परिवर्तन भए पनि किसानको समस्या जहिल्यै मल बीउकै भएको उनले सुनाए ।
प्रदेश सभा र प्रतिनिधिसभाको मनोनयनपछि दलहरू गाउँगाउँमा चुनावी सभा र भेला गर्दै हिंडेका छन् । मतदाताकोमा भोट माग्न पुग्ने नेताका आश्वासन र किसानको समस्या फरक छ । मतदाता अहिले पनि सामान्य कुरा माग्छन् । समयमै बीउ, मलको व्यवस्था भइदिए किसानलाई अरू केही नचाहिने बताउँछन् । तर, नेता भने ठूलठूला आश्वासन बाँड्छन् । जनता र वास्तविक किसानको समस्या बुझ्न कोही नआउने अर्की कृषक मधु सुवेदी बताउँछिन् । ‘नेतालाई चुनाव लागेको छ होला । हाम्लाई त धान भित्र्याउने बेलासम्म पानी नपरे हुन्थ्यो भन्ने लागेको छ,’ उनले भने, ‘तिहारपछि अलिअलि चुनावको माहोल बल्ल सुरु हुन्छ होला ।’
प्यूठानमा ६ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । यहाँबाट वार्षिक ३० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको तथ्यांक एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानको तथ्यांकमा छ । सिँचाइको सहज सुविधा भएका कारण यहाँ धानसँगै अन्य खेती गर्न सहज भएको कार्यालय प्रमुख भास्कर पौडेल बताउँछन् । सिँचाइको व्यवस्था हुने हुँदा प्यूठानमा धान उत्पादन राम्रो हुन्छ । त्यही भएर पनि किसान यसैमा व्यस्त छन् । किसानका समस्या एकातिर छन् । तर, पार्टी र त्यसका उम्मेदवारको घोषणापत्र अर्कै छ । जसले गर्दा किसान केन्द्रित कार्यक्रम नभएको आममतदाता र किसान बताउँछन् ।
