टिम बालेन

0Shares

टिम बालेन

मेयर बालेनको सचिवालयमा फरक–फरक क्षेत्रको जिम्मेवारी सम्हाल्ने गरी भूमिका दिइएको छ, चुनावका बेला सघाउने धेरैजसो व्यक्ति नै अहिले उनको टिममा रहेर काम गरिरहेका छन् 
काठमाडौँ — फूलपातीको अघिल्लो दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले फेसबुकमा सूचना जारी गरे– ‘५५८ जना स्वयंसेवकहरूमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको छ । नजिकको स्वास्थ स्वयंसेवकमार्फत तपाईंहरूले सिटामोल र जीवनजल प्राप्त गर्न सक्नुहुनेछ ।

२४ घण्टे हटलाइन सेवा निरन्तर राख्ने व्यवस्था मिलाइएको छ, ११८० मा फोन गरेर डेंगीका बारेमा जानकारी लिन सक्नुहुनेछ भने १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नुहुनेछ ।’
‘दसैं बिदाका लागि विशेष व्यवस्था’ भन्दै उनले उल्लेख गरेको सूचनामा विशेषगरी स्वास्थ्य सरोकारको चिन्ता देखिन्छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएयता उनले सुरुमा फोहोरमैला व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका थिए । सिसडोल र बन्चरेडाँडामा देखिएको समस्या सुल्झाएर हाल राजधानीको फोहोर व्यस्थापन सहजै भइरहेको छ । फुटपाथ व्यवस्थापनसँगै अव्यस्थित र अतिक्रमित संरचना हटाउने काममा वाहवाही पाएका बालेन टुकुचा खोलामाथिका संरचना भत्काउने अभियानमा होमिए । तर, टुकुचा खोज्ने नाममा नम्बरी जग्गामा बनेको संरचना भत्काएको भन्दै उनको आलोचनासमेत भयो ।

अर्कातिर, फुटपाथ अतिक्रमण गरेर व्यापार गर्नेलाई चाडपर्वका नाममा छुट नदिने उनले अडान लिएका छन् । ‘सडक किनारामा निर्बाध हिँड्न पाउने पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रूपमा होइन पूर्ण र दीर्घकालीन रूपमा सञ्चालन गर्ने र यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने’ समेत उनले उल्लेख गरेका छन् । यो निर्णयलाई पनि धेरैले समर्थन र साथ दिएका छन् । स्वतन्त्रबाट महानगर प्रमुखमा निर्वाचित बालेनले यस्ता कामलाई कसरी अघि बढाइरहेका छन् त ?

‘हामीसँग विषयविज्ञहरू हुनुहुन्छ, सचिवालयमा फरकफरक क्षेत्रको जिम्मेवारी सम्हाल्ने टिम छ,’ प्रमुख स्वकीय सचिव भूपदेव शाह भन्छन्, ‘चुनावका बेला सघाउने धेरैजसो व्यक्तिहरू नै अहिले उहाँको टिममा रहेर काम गरिरहनुभएको छ ।’

प्रमुख निर्वाचित भएपछि उनले आफ्नो टिममा तीन जनालाई सचिवालयमा नियुक्त गरेका थिए । प्रमुख स्वकीय सचिव शाहलाई छैटौं तहमा नियुक्त गरिएको हो । यस्तै, सचिवालयमै नवीन भण्डारी र विनय शाक्यलार्ई नियुक्ति दिइएको छ । शाक्य आधिकारिक फोटोग्राफरको जिम्मेवारीमा छन् । विषय विज्ञताका आधारमा पनि बालेनले कानुनी, शैक्षिक र ट्राफिक विज्ञसमेत नियुक्त गरेका छन् ।

चुनावी अभियानदेखि नै टिम बालेनको मुख्य सहयोगीका रूपमा काम गरेका कुमार बेनले भने अहिलेसम्म कुनै नियुक्ति लिएका छैनन् तर उनी टिमका ‘मास्टर माइन्ड’ हुन् । उनी अहिले योजना निर्माणमा सहयोग गरिरहेका छन् । उनले ‘स्ट्राटेजी सेटअप’ मा काम गर्ने प्रमुख स्वकीय सचिव भूपदेवले बताए । बालेनको सोसल मिडिया हेर्ने जिम्मेवारी पनि कुमारले नै लिएका छन् । ‘मुख्य रणनीति एवं योजना बनाउने सवालमा कुमारको भूमिका बढी हुन्छ । टिमले योजना बनाएपछि त्यसलाई लागू गर्ने/नगर्नेबारे स्वनिर्णय मेयरज्यूले नै गर्नुहुन्छ,’ भूपदेवले भने ।

प्रमुखको दैनिक कामकारबाहीको समन्वय गर्नेदेखि महत्त्वपूर्ण भेटघाटको कार्यतालिका मिलाउने काम भूपदेवले गर्दै आएका छन् । ‘कामको प्राथमिकताका आधारमा तिनलाई सर्टिङ गरिन्छ,’ उनले भने, ‘वडाध्यक्ष र विभागीय प्रमुखसँग समन्वय र फलोअपका काम पनि हेर्नुपर्ने हुन्छ ।’ धेरै विषय प्रमुखसँग ठोक्किएर आएका हुन्छन् । कुन विषयमा ध्यान दिने/नदिने, कसलाई भेट्न दिने/नदिने, सुनाउने/नसुनाउने सम्बन्धको निर्णय पनि उनैले गर्छन् । महानगरमा आउने धेरै विभागीय फाइल र प्रस्ताव प्रमुखकहाँ पुग्नुअघि सचिवालयमा आउँछ, सचिवालयले तिनलाई केलाएर कुनलाई पहिलो प्राथमिकता दिने भन्ने निर्णय भूपदेवले लिन्छन् ।

आफ्ना मुख्य सहयोगी कुमार बेनलगायतसँग बालेन ।

चुनावमा बालेनको प्रचारप्रसारलगायतका काममा सहयोग गर्नेहरू नै अहिले टिममा रहेको भूपदेवले बताए । उनका अनुसार केही अभियानकर्मीले आफ्नो व्यस्तताका कारण पूरा समय दिन पाएका छैनन् । सचिवालयका अर्का सहयोगी नवीन समग्रमा ‘ब्याकअप’ का रूपमा काम गर्छन् । भूपदेव फिल्डमा जाँदा सचिवालय खाली नगराउने उद्देश्यले उनलाई जिम्मेवारी दिइएको हो । विनय भने बालेनका गतिविधिका साथै महानगरसँग सम्बन्धित तस्बिर पनि खिच्ने गर्छन् । टिम बालेनका अर्का महत्त्वपूर्ण सदस्य हुन्, सुनिल लम्साल । इन्जिनियरसमेत रहेका सुनिलले फोहोर व्यवस्थापनको पाटोमा सहयोग गरिरहेका छन् ।

सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइट व्यवस्थापन, महानगरको फोहोर व्यवस्थापनमा उनको भूमिका छ । उनलाई पूर्वाधार सल्लाहकारका रूपमा नियुक्ति दिने महानगरको तयारी छ । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले पनि बालेनका हरेका काममा साथ दिँदै आएका छन् । महानगरले गर्ने हरेक गतिविधिको पहिलो जानकारी उनैलाई दिने गरिएको छ । स्थानीय तहको चुनावमा पनि बालेनलाई सहयोग गर्दै उनले अभियान नै चलाएका थिए ।

ट्राफिक विज्ञदेखि कानुनी सल्लाहकारसम्म

बालेनले कानुनी सल्लाहकार, शिक्षा सल्लाहकार र ट्राफिक विज्ञसमेत नियुक्त गरिसकेका छन् । उनीहरूलाई महानगरपालिकाले तोकेबमोजिमको सेवासुविधा उपलब्ध गराउँछ । कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले कुनै पनि काम गर्नुअघि त्यसका कानुनी आधार र काम गरिसकेपछि आउन सक्ने उल्झनको पूर्वजानकारी र नतिजाका बारेमा जानकारी गराउँछन् । प्रमुखले चाल्ने कदमविरुद्ध अदालतमा पर्ने मुद्दा हेर्ने जिम्मेवारी अर्यालसहित महानगरका कानुन विभाग प्रमुख वसन्त आचार्यले लिएका छन् । अदालती प्रक्रियासम्बन्धी जानकारी, प्रमाण जुटाउने तथा दस्ताबेजीकरणका काममा दुवैको भूमिका रहन्छ ।

काठमाडौं महानगरभित्रका सरकारी विद्यालयको वस्तुस्थिति र समस्या पहिचानका लागि शिक्षा सल्लाहकार रेशु अर्याललाई जिम्मेवारी दिइएको छ । ‘स्थानीय स्तरमा रहेका सरकारी विद्यालयमा राजनीति हाबी हुँदा सोचेअनुरूपको लक्ष्य हासिल हुन सकेको छैन,’ स्वकीय सचिव भूपदेव भन्छन्, ‘ती विद्यालयका सुधारका उपायबारे शिक्षा सल्लाहकारले मेयरलाई महत्त्वपूर्ण सल्लाह दिनुहुन्छ ।’

काठमाडौंमा ट्राफिक जाम र अव्यस्थित पार्किङको समस्या धेरै छ । महानगरले ट्राफिक प्रहरी कार्यालयसँग समन्वय र ट्राफिक समस्या हल गर्नका लागि विज्ञको रूपमा पूर्वट्राफिक प्रहरी अधिकृत जगतमान श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठले ट्राफिक र महानगरबीच पुल भएर काम गरिरहेका छन् ।

आवश्यकताअनुसार बालेन आफैं विषयविज्ञलाई फोन गरेर रायसुझाव लिने गर्छन् । ‘मेरिटका आधारमा जिम्मेवारी दिने मेयरको मुख्य विशेषता हो,’ भूपदेव भन्छन्, ‘डा. भगवान् कोइराला, डा. सन्दुक रुइत, पूर्वसचिव कृष्णहरि बाँस्कोटा, सुरेश प्रधानलगायत पूर्वसचिव तथा प्रशासकसँग आवश्यकताअनुसार सल्लाह र रायसुझाव लिने गर्नुहुन्छ ।’

नजिकको सिंहदरबार

प्रदेश सरकारको भूमिकाप्रति भने बालेनको सचिवालय अझै द्विविधामा छ । महानगरले प्रदेशभन्दा सीधै संघीय सरकारसँग समन्वय गरिरहेको छ । धेरै कुरा प्रदेश सरकारसँग नगएकाले पनि संघ सरकारसँग समन्वय गरिरहनुपरेको स्वकीय सचिव भूपदेवले बताए । अझै पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा प्रदेशमा स्पष्ट रूपमा अधिकार प्रत्यायोजन नभएको उनको भनाइ छ ।

उनका अनुसार महानगरको समस्यालाई प्रधानमन्त्री शेरबहादुर देउवाले चासोपूर्वक लिने गरेका छन् । ‘राम्रोसँग सूचना दिएको र समन्वय गरेको विषयमा महनगरलाई प्रत्यक्ष सहयोग हुने गरेको छ । तदारुकताका साथ प्राथमिकतामा राखेर चासो पनि दिनुहुन्छ,’ उनले भने । केन्द्रीय मन्त्रालयले भने बाहिरबाट सहयोग गरेको देखिएपछि व्यवहारमा त्यो नभएको सचिवालयको भनाइ छ ।

‘व्यवहारमा मन्त्रालयहरूबाट अपेक्षाकृत सहयोग पाइएको छैन । मन्त्रालयहरूका आफ्नै सीमितता र दायरा छन्, त्यो हिसाबले पनि सहयोग नपुगेको हुन सक्छ,’ भूपदेव भन्छन्, ‘स्वतन्त्रबाट जितेर महानगर चलाउँदा कसैको पनि दबाब सामना गर्नु पर्दैन, काम गर्न सजिलो छ ।’

कर्मचारीबाट पनि बालेनको नेतृत्वले राम्रै साथ पाएको छ । सुनेको भरमा भन्दा पनि काम गरेको आधारमा निर्णय गर्ने भएकाले कर्मचारीमा सकारात्मक प्रभाव परेको सचिवालय बताउँछ । महानगरमा दर्जनभन्दा बढी विभाग छन् । बालेनले सबै विभागको भ्रमण गर्ने र गतिविधिबारे जानकारी लिने गरेका छन् । नगर प्रहरी बलमा धनपति सापकोटालाई हटाएर राजुनाथ पाण्डेलाई प्रमुख बनाइएको छ । पाण्डे हाल अनधिकृत संरचना र सडक व्यापार हटाउन तथा टुकुचामाथिका संरचना हटाउने अभियानमा डटेर लागेका छन् । यसबाहेक बालेनले कुनै पनि विभागको नेतृत्व परिवर्तन गरेका छैनन् ।

सचिवालयका अनुसार बालेनको दैनिकी बिहान साढे ५/६ बजेदेखि सुरु हुन्छ । घरबाट निस्किएपछि फिल्डका काम, महानगर र विभिन्न निकायको कार्यक्रममा सहभागी हुन्छन् । ९ देखि साढे ९ बजे उनी कार्यालय पुग्छन् । महानगरका १४ विभाग, आयोजना, नगर प्रहरीलगायतका बैठकमा सहभागिता जनाउँछन् । ‘बिहान ६ बजे घरबाट निस्कनुहुन्छ, राति ९ बजे फर्कनुहुन्छ । वडाध्यक्षहरूसँग छलफल गर्दा नै बेलुकी ७ बज्छ,’ भूपदेवले भने । उनका अनुसार सिटी प्लानिङ कमिसन (सीपीसी) गठन गर्ने पनि महानगरको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *