वीरगञ्जमै रोके मेयर सिंहले युरिया मल

0Shares

वीरगञ्जमै रोके मेयर सिंहले युरिया मल

मल रोक्न पुगेका मेयर सिंह (पहेंलो कपडा लगाउने) र किसान ।
२९ साउन, काठमाडौं । ओमानबाट भारतहुँदै आएको मल वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा वीरगञ्जमै रोकिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको गोदामबाट आइतबार पर्वत, महोत्तरी र रौतहटका लागि मल लोड गरेर छुट्न लागेको ४ वटा ट्रकलाई सिंहको नेतृत्वमा कब्जामा लिइएको छ ।

दिउँसो १ बजे पर्वतका लागि छुटेको एउटा, महोत्तरीको ढल्केबरका लागि २ ट्रक र रौतहटको चन्द्रनिगाहपुरका लागि छुटेको एउटा ट्रकलाई मेयर नेतृत्वको भिडले नियन्त्रणमा लिएको थियो । मल आयातकर्ता कृषि सामग्री कम्पनी वीरगञ्ज कार्यालय प्रमुख चन्द्र चौलागाईंकाअनुसार बाहिर वितरणका लागि पठाइएको मल कब्जामा लिएसँगै कार्यालयबाट १७ जिल्लामा वितरण हुने मलको प्रक्रिया रोकिएको छ ।

‘ढोकैबाट मल कब्जामा लिएपछि असुरक्षा बढ्यो । तीन वटा जिल्लामा भोलि वितरण हुने मल आजै नियन्त्रणमा लिइयो,’ चौलागाईँले भने ‘असुरक्षाका कारण अन्य जिल्लामा मल पठाउन सकिएन, अभावको बेला भएको मल समेत वितरण नहुने अवस्था सृजना भयो ।’

आइतबार दिउँसो १ बजे मल लुटिएकोबारे आफूले जानकारी पाएपछि प्रहरीलाई खबर गरेको र थप लुटिने डरले अन्य जिल्लाको ढुवानी समेत रोकिएको उनले बताए । जनप्रतिनिधि नै मल कब्जामा लिन अघि सरेपछि वीरगञ्ज कार्यालयको गोदामको सुरक्षामा प्रहरी परिचालन गरिएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलकाअनुसार उक्त मल अहिले बालमन्दिर परिसरमा प्रहरी सुरक्षामा छ ।

जे मन लाग्यो त्यही गर्न पाइन्न : मन्त्रालय

वीरगञ्जमा मेयरकै नेतृत्वमा रासायनिक मल कब्जामा लिनु कानुन सम्मत नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । विभिन्न जिल्लाका लागि कोटा तोकेर वितरण गर्न लागिएको मल नियन्त्रणमा लिनु कानुन सम्मत नभएको भन्दै मन्त्रालयले कानुनी राज्यमा जे मन लाग्यो त्यही गर्ने छुट कसैलाई नभएको प्रतिक्रिया दिएको हो ।

वीरगञ्जमा आइतबार ४ ट्रक (८४ टन) युरिया मल महानगरका मेयरकै नेतृत्वमा कब्जामा लिइनु कानुनअनुसार नभएको मन्त्रालयका सचिव डा गोविन्द शर्माले बताए । ‘देशका कानुन छ , जसले जे मन लाग्यो तेही गर्ने छुट छैन्’ सचिव शर्माले भने ‘कानुन हातमा लिने अधिकार कसैलाई हुन्न । अहिले सीडीओ सापलाई यो विषयका समाधान खोज्न भनेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *