प्राचीन पोखरीलाई बनाइयो ‘स्वीमिङ पुल’

0Shares

प्राचीन पोखरीलाई बनाइयो ‘स्वीमिङ पुल’
ललितपुरको हरिसिद्धिस्थित पौराणिक तथा ऐतिहासिक महत्वको ‘द्योः पुखु’ पोखरीमा रंगीन टायल बिछ्याएर आधुनिक ‘स्वीमिङ पुल’ जस्तो बनाइएको छ ।

२९ साउन, काठमाडौं । २० लाख रुपैयाँ खर्चिएर पुनर्निर्माण सकिएको ललितपुरको हरिसिद्धिस्थित ऐतिहासिक पोखरी ‘द्योः पुखु’ हेर्दा धेरैको मन कुँडिन सक्छ । पुनर्निर्माण उपभोक्ता समितिले काम सकाए पनि यसको निर्माणमा भएको लापरवाही र कानुन विपरीतको कामले विवाद सुरु भएको छ ।

ललिलतपुरको ऐतिहासिक पोखरी द्योः पुखु अहिले आफ्नो पुरानो स्वरुपमा छैन । हरिसिद्धिको यो पोखरीमा शनिबार गुन्हु पुन्ह्किो अवसरमा परम्परागत जात्रा त भयो, तर पोखरीको स्वरुपले धेरैको मन दुखायो ।

अहिले यो पोखरी झट्ट हेर्दा स्विमिङ पुलजस्तै देखिन्छ । पोखरीको तल्लो भागमा निलो र सेतो रंगको बुट्टेदार आधुनिक टायल बिछ्याइएपछि स्थानीयले विरोध गरेका छन् । यसले भावी पुस्ताले यो पोखरीलाई आधुनिक पोखरीको रुपमा अर्थ्याउने उनीहरुको चिन्ता छ ।

हरिसिद्धि भवानी मन्दिरको प्राङ्गणमा रहेको यो पोखरी वर्षको एक पटक मात्रै विधिपूर्वक स्नान गर्न खुला गरिन्छ ।

यसपटकको जात्राअघि मात्रै यो पोखरी पुननिर्माण सकिएको हो । तर, हेर्दा नै स्विमिङ पुलजस्तै बनेपछि धेरै स्थानीयले त्रुटि सच्याउन ललितपुर महानगरपालिका र सम्बन्धित निर्माण समितिलाई अनुरोध गरेका छन् ।

यो पोखरीमा भगवान आफैंले स्नान गर्छन् भन्ने विश्वास छ । गुन्हु पुन्ह्मिा सुरुमा विधिपूर्वक हरिसिद्धिका देवगण (पूजारी)हरुले पूजा गरेपछि बाजा बजाउनेहरुले पोखरीमा स्नान गर्छन् । त्यसपछि सर्वसाधारणले पनि पोखरीमा स्नान गर्छन् । राँगाका टाउको लिएर घुम्नेदेखि यो पोखरीसँग विभिन्न पूजा विधिहरु सम्बन्धित छन् ।

यो पोखरीमा स्नान गरे ‘गोसाइकुण्ड जानुपर्दैन’ भन्ने जनविश्वास छ । तर, यस्तो विश्वास नै भत्किने गरी पोखरीलाई आधुनिक रुप दिइएको छ ।

पोखरीमा चिल्ला टायल बिछ्याएपछि यसको पुरातात्विक महत्व नै घट्ने चिन्ता गर्छन्, स्थानीय मीनकृष्ण महर्जन । ‘हरिसिद्धिको यो पौराणिक तथा ऐतिहासिक महत्वको पोखरीमा रंगिन टायल बिछ्याउनु बिडम्बनापूर्ण हो,’ उनी भन्छन्, ‘सम्पदा पुननिर्माणमा यति बिघ्न हेलचेक्र्याइँ नहुनु पर्ने हो, अझै कसैले पनि चासो दिएका छैनन् । ’

पोखरी आधुनिक शैलीमा पुननिर्माण गरेपछि धार्मिक, शास्त्रीय, पुरातात्विक र सामाजिक मान्यता नै भत्किने स्थानीयबासीको चिन्ता छ । सम्पदाविद् सँग पर्याप्त छलफल नगरी पोखरी बनाएकाले यस्तो अवस्था आएको उनीहरुको भनाइ छ ।

स्थानीय बीके जल्मी तुरुन्तै महानगरपालिका र सम्बन्धित उपभोक्ता समितिलेले टायल बटाएर पाचेखरी पुरानै स्वरुपमा बनाउनुपर्ने बताउँछन् । ‘यो पोखरीको ऐतिहासिकता जोगाउन पनि यो पोखरी पुननिर्माणका भएको त्रुटि सच्याइहाल्नुपर्छ,’उनी भन्छन् ।

कसरी भयो काम ?

ललितपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष वीरेन्द्र महर्जन पूजारीहरुकै संलग्नतामा बनेको उपभोक्ता समितिबाट पोखरी पुननिर्माण गरिएको बताउँछन् । पोखरी निर्माणका क्रममा टायल प्रयोग नगर्न अनुरोध गरे पनि उपभोक्ता समितिले निर्णय गरेर टायल प्रयोग गरेको उनको भनाइ छ ।

‘हामीले बजेट मात्रै दिएका हौं, टायल प्रयोग हुनुअघि नै छलफल भएको थियो,’ उनले भने, ‘मन्दिरकै पूजारीहरुले नै पोखरीमा टायलको प्रयोग गर्न माग गर्नुभएकोले त्यस्तो निर्णय भएको रहेछ ।’

उनका अनुसार नजिकैबाट ढल फुटेर पोखरीमा आउने र त्यसले जात्रामा स्नान गर्न समस्या भएको तर्क गर्दै पोखरीमा टायल हालिएको हो । पोखरीलाई पुरानो शैलीमा फर्काउनेबारे अहिलेसम्म कुनै छलफल नभएको वडाध्यक्ष महर्जनले बताए ।

पोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष बाबुकाजी महर्जन टायल प्रयोग गरेर गल्ती भएको स्वीकार्छन् । तर, बजेट महानगरपालिकाले नै बनाएर खर्च गरेको र आफूलाई समितिको अध्यक्षको रुपमा मात्रै राखिएको उनको दाबी छ ।

‘नेपाली कांग्रेसकै ठेकेदारले यो काम गरेका हुन्, मलाई पनि पाखरीमा टायल राखेको चित्त बुझेको छैन,’ उनले भने, ‘टायल हालेपछि त मलाई निन्द्रै आएन ।’

हरिसिद्धि भवानीको ३० पूजारीमध्येका एक रहेका महर्जनका अनुसार यो पोखरी कति पुरानो हो भन्ने यकिन छैन । यति पुरातात्विक पोखरीमा टायल प्रयोग किन भयो भन्नेमा आफू जानकार नरहेको भन्दै महर्जन पन्छिए ।

कानुन विपरीतको काम

सम्पदा संरक्षणका अभियन्ताले भने नयाँ पोखरी पुनर्निर्माण गर्दा कानुन मिचिएको तर्क गरेका छन् । सम्पदा संरक्षणका अभियन्ता तथा अधिवक्ता सञ्जय अधिकारीले स्वेच्छाचारी पुरातात्विक महत्वको पोखरीको स्वरुप परिवर्तन गरेर प्राचीन वस्तु संरक्षण गर्न बनेका कानुन मिचिएको बताउँछन् ।

यसले काठमाडौंको रानीपोखरी पुननिर्माणका लागि तत्कालीन अवस्थामा मेयर विद्या सुन्दर शाक्यको योजनालाई पुनः समरण गराएको उनले बताए । अभियान्ताहरुले लडेर रानीपोखरी जोगाएको भन्दै उनले ‘द्योः पुखु’लाई पनि जोगाउन स्थानीयहरु जाग्नुपर्ने अधिकारी बताउँछन् ।
‘हाम्रा सम्पदा जसले जसरी मनलाग्छ उसैगरी फेर्न मिल्दैन,’ उनी भन्छन्, ‘यस्तो कामले धार्मिक आस्थामा चोट पुग्छ र कानुन नै नमान्ने परिपाटी विकास हुन्छ ।’ पुरातत्व विभागले पनि यसमा ध्यान दिनुपर्ने उनको मत छ ।

उनका अनुसार यसरी गैरपरम्परागत सामग्री प्रयोग गरेर सम्पदा निर्माण गर्नै पाइँदैन । प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सरकारको स्वीकृतिविना प्राचीन स्मारकका सम्पदालाई भत्काउने, हटाउने, परिवर्तन गर्ने विरुप गर्ने जस्ता काम गर्न पाइँदैन । पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

सम्पदा क्षेत्रमा गैरकानुनी ढंगबाट काम भएकाले यसबारे सबैले चासो दिनुपर्ने उनको मत छ । पोखरीलाई पुरानै स्वरुपमा मर्मत र सफाइ गरेर पुनर्स्थापित गनुपर्ने उनको भनाइ छ ।

‘हरिसिद्धि प्राचीन बस्ती हो, त्यहाँको पुरातात्विक महत्वको पोखरी ओपन बाथरुम बनाइएको छ’ उनी भन्छन्, ‘भावी पुस्ताले त्यो पोखरीलाई कसरी चिन्लान्,त्यसको धार्मिक महत्वमाथि कसरी विश्वास राख्लान् ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *