राष्ट्रपतिको कार्यक्रमका लागि अस्पतालका सेवा बन्द ?

2Shares

राष्ट्रपतिको कार्यक्रमका लागि अस्पतालका सेवा बन्द ?

आकस्मिकबाहेकका सबै सेवा बन्द गरी कार्यक्रममा सहभागी हुनु भन्दै डिन दिव्या सिंह शाहले पठाइन् महाराजगन्जस्थित शिक्षण अस्पतालका निर्देशकहरुलाई पत्र
दैनिक २ हजारभन्दा बढी बिरामीले सेवा लिने अस्पताल वार्षिकोत्सवको बहानामा बन्द गर्न नहुने चिकित्सकहरुको भनाइ
काठमाडौँ — राष्ट्र्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रममा सहभागी हुन भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले आइतबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न उर्दी जारी गरेको छ ।

आईओएमकी डिन दिव्या सिंह शाहले शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलाई पत्र काट्दै सेवा बन्द गरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएको एक प्राध्यापकले बताए ।
आईओएमको ५० औं वार्षिकोत्सव समारोह आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुँदै छ । राष्ट्रपति आउने कार्यक्रमका कारण सेवा बन्द गर्ने निर्णयलाई लिएर अस्पतालकै चिकित्सकले नै असन्तुष्टि जनाएका छन् । दैनिक २ हजारभन्दा बढी बिरामीले सेवा लिने अस्पताल वार्षिकोत्सवको बहानामा बन्द गर्न नहुने उनीहरूको भनाइ छ । ‘वार्षिकोत्सव सार्वजनिक बिदा होइन, अस्पतालको सेवा किन बन्द गर्ने ?,’ एक कर्मचारीले भने ।

त्रिवि शिक्षण अस्पतालको ४० औं वार्षिकोत्सव भने शुक्रबार त्रिवि उपकुलपतिसहित पदाधिकारीको उपस्थितिमा मनाइएको छ । आईओएमको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आइतबार राष्ट्रपतिको उपस्थितिमा कार्यक्रम गर्न लागिएको हो । अस्पतालजस्तो संवेदनशील संस्था बन्द गर्न डिन शाहले आफूखुसी निर्णय लिएको प्राध्यापकहरू बताउँछन् । ‘मेची–महाकालीदेखि आउने बिरामी अस्पताल बन्द हुँदा मर्कामा पर्छन्, यसमा ध्यान पुग्न सकेन,’ एक चिकित्सकले भने ।

अस्पतालमा सातामा ६ दिन ओपीडी सेवा सञ्चालन हुन्छ । सार्वजनिक बिदाको दिनमा समेत बिहान ओपीडी चल्दै आएको छ । बिहान र दिउँसो दुई सिफ्टमा सेवा दिने गरिएको छ ।

आकस्मिकबाहेकका सबै सेवा बन्द गरी कार्यक्रममा सहभागी हुनु भन्दै डिन दिव्या सिंह शाहले महाराजगन्जस्थित शिक्षण अस्पतालका निर्देशकहरुलाई पठाएको पत्र

त्रिविका पूर्वउपकुपति केदारभक्त माथेमाले कुनै पनि बहानामा शिक्षण संस्था, स्वास्थ्य संस्थालगायत संवेदनशील क्षेत्रका सेवा बन्द गर्न नहुने बताए । ‘बिरामी छाडेर डाक्टर औपचारिक कार्यक्रममा जानु हुँदैन,’ उनले भने, ‘प्रशासनिक पदका मान्छे गए हुन्छ, सेवा बन्द गर्ने कुरा ठीक होइन ।’ सेवा बन्द गर्ने आईओएमको निर्णय अनुचित भएको माथेमाले बताए । ‘नेपाल वायु सेवा निगमको कार्यक्रम भयो भने पाइलटलाई उडान बन्द गरेर आउनु भन्न मिल्छ ?’ उनले भने, ‘पाइलटहरूको मुख्य काम यात्रुलाई गन्तव्यमा पुर्‍याउनु हो । कसैलाई पनि आफ्नो प्रमुख ड्युटी छाडेर, सभा/समारोहमा जानु पदीय जिम्मेवारीले दिँदैन ।’

आईओएमका पूर्वप्राध्यापक डा. गोविन्द केसीले वार्षिकोत्सव मनाउने नाममा उपचार सेवा नै बन्द गर्नु गलत गरेको टिप्पणी गरे । ‘यो त राष्ट्रपतिले पनि बुझ्नुपर्ने हो, अस्पताल बन्द भए बिरामीले दुःख पाउँछन्,’ उनले भने, ‘निर्णय सच्याउन त्रिवि पदाधिकारीलाई म आग्रह गर्छु ।’ २/३ घण्टा हुने कार्यक्रमका लागि सेवा नै बन्द गर्नु उचित नभएको उनले बताए ।

शिक्षण अस्पतालकै एक वरिष्ठ चिकित्सकले राष्ट्रपति, प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा अस्पताल, शिक्षण संस्था बन्द गर्ने गलत संस्कार परिवर्तन हुन नसक्दा पटकपटक बिदा दिने घोषणा दोहोरिने गरेको बताए । ‘लोकतान्त्रिक गणतन्त्र आए पनि संस्कार परिवर्तन हुन सकेन, पहिले राष्ट्रपति सडकमा निस्कनासाथ गाडी बन्द गरिन्थ्यो, अहिले यो हट्दै गएको छ,’ उनले थपे, ‘नागरिकले पाउने सेवा अवरुद्ध हुनुलाई सकारात्मक रूपमा लिन सकिन्न, यस्तो मानसिकता रूपान्तरण हुन आवश्यक छ ।’ आकस्मिक सेवामा आएका बिरामीलाई कतिपय अवस्थामा ओपीडीमा लैजानुपर्ने हुन सक्ने उनले सुनाए ।

डिन शाहले भने उक्त दिन बिहानको सिफ्टमा सेवा सञ्चालन गर्न अस्पतालका निर्देशकहरूलाई निर्देशन दिइसकेको बताइन् । ‘पत्र तयार पार्दा राष्ट्रपतिको समय कुन बेला भन्ने मिलिसकेको थिएन, अब दिउँसोमा कार्यक्रम हुने भयो, बिहान ओपीडी चल्छ, दिउँसो मात्रै बन्द हुन्छ,’ उनले भनिन् । अस्पतालका प्रशासकीय प्रमुख वैकुण्ठ थपलियाले आधा सेवा मात्रै बन्द हुने दाबी गरे । ‘सबै सेवा बन्द हुँदैन, पत्र बनाउँदा अलिकति गल्ती भएछ, साढे १२ बजेसम्म सेवा सञ्चालन हुन्छ, त्यसपछि बन्द गरिन्छ,’ उनले भने, ‘बिरामीलाई डाक्टरले भेट्ने समय दिएको हुन्छ, जाँच गर्न समय लिएर बसेका बिरामी हुन्छन्, एक्कासि सबै सेवा बन्द गर्न हुँदैन भनेर निर्णय पुनर्विचार गरिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *