नेपालमा कोरोना संक्रमण र संक्रमण दरमा तीव्र वृद्धि

0Shares

नेपालमा कोरोना संक्रमण र संक्रमण दरमा तीव्र वृद्धि
एक महिना अघिसम्म औसतमा करिब ०.५ प्रतिशतभन्दा कम रहेको नेपालको कोरोना संक्रमण दर हाल करिब ८ प्रतिशत पुगेको छ जुन जनस्वास्थ्यको हिसाबले एक चिन्ताजनक अवस्था हो।

विश्वमा कोरोना संक्रमण र यसको महाव्याधि तलमाथि हुने क्रममा पछिल्लो समय नियन्त्रित र निर्मूलीकरण हुँदै गएको थियो। यसै वर्षको जनवरीमा विश्वमा आएको हालसम्मकै सबैभन्दा ठूलो महाव्याधि लहरपश्चात् महाव्याधि अवस्था क्रमशः तङ्ग्रिदै र विश्व पनि खुल्दै गएको थियो। त्यतिबेला, विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभरि हालसम्मकै सबैभन्दा धेरै दैनिक संक्रमण अधिकतम ४० लाखसम्म देखापरेको थियो भने दैनिक मृत्यु १२ हजारभन्दा धेरै भएको थियो।

विश्वमा कोरोना खोपले व्यापकता पाएसँगै पछिल्लो समय दैनिक कोरोना संक्रमण पनि न्यून हुँदै गएको थियो। फलस्वरूप यसै वर्षको मे महिनाको अन्त्यसम्म विश्वभरि दैनिक कोरोना संक्रमण ३ लाखभन्दा कम र दैनिक कोरोना मृत्यु ८०० जतिमा झरिसकेको थियो।

तर त्यति हुँदाहुँदै पनि केही देशहरूमा कोरोना संक्रमण अत्यधिक नै रहेको थियो। जस्तै जर्मनी, स्पेन, इटाली, नेदरल्यान्ड्स, कोरिया, जापान, ताइवान, अस्ट्रेलिया आदि। पछिल्लो समय उत्तरकोरियामा पनि कोरोना संक्रमण व्यापक फैलिएको कुरा विश्व स्वास्थ्य संगठनले पनि प्रमाणित गरेको थियो भने भुटानमा पनि हालसम्मकै सबैभन्दा धेरै संक्रमण र मृत्यु देखिएको थियो।

तर विगत करिब ५ हप्तादेखि विश्वका धेरै देशमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको छ र त्यसको असर दक्षिण एसिया र नेपालमा पनि देखिएको छ। पछिल्लो समय दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स आदि देशहरूमा कोरोना संक्रमण व्यापक बढ्दै गएको देखिएको छ। संख्याको हिसाबले त्यति धेरै नभएतापनि दक्षिण एसियामा विगत एक महिनामा समग्र रूपमा कोरोना संक्रमण र कोरोना मृत्यु बढेको छ।

दक्षिण एसियाली देशहरूमध्ये बंगलादेशमा कोरोना संक्रमण सबैभन्दा धेरै र तीव्र फैलिएको छ। यसले गर्दा दैनिक संक्रमण दर, जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार, २७ प्रतिशत नाघेको छ। संक्रमण दर भन्नाले कुल परीक्षणमध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो, त्यसको अनुपात या प्रतिशत भन्ने जनाउँदछ। विश्व स्वास्थ्य संगठनका अनुसार यो दर ५ प्रतिशतभन्दा धेरै भएमा संक्रमण र महाव्याधि नियन्त्रणभन्दा बाहिर गएको भन्ने बुझिन्छ।

चित्र नं. १ ले दक्षिण एसियाको विगत एक महिनाभन्दा लामो समयको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाए जस्तै पछिल्लो समय दक्षिण एसियामा दैनिक संक्रमण र मृत्यु दुवै बढ्दै गएको छ।

करिब एक महिनाअघि भारतमा दैनिक कोरोना संक्रमण करिब ४ हजार जति हुने गरेकोमा हाल १८ हजार नाघेको छ भने दैनिक कोरोना मृत्यु करिब १०-१५ बाट ४० नाघेको छ। त्यस्तै बंगलादेशमा एक महिनाअघिको तुलनामा दैनिक कोरोना संक्रमण करिब ४० बाट अधिकतम २ हजार नाघेको थियो भने मृत्यु शून्य भइसकेकोमा दैनिक अधिकतम १२ सम्म पुगेको थियो। तर त्यहाँ गतहप्तादेखि कोरोना संक्रमण केही स्थिर देखिन्छ।

नेपालमा गत जनवरीको, हालसम्मकै संक्रमण संख्याको हिसाबले सबैभन्दा ठूलो, महाव्याधि लहर पश्चात् मार्च महिनादेखि कोरोना संक्रमण र मृत्यु न्यून भएको थियो। मार्चदेखि मे महिनाको अन्त्यसम्म करिब तीन महिना दैनिक संक्रमण औसतमा १०-२० जति रह्यो भने अन्तिम कोरोना मृत्यु गत मे महिनाको ४ का दिन एकजनाको भएको थियो।

त्यसभन्दा पहिला मार्च महिनाको २२ का दिन एकजनाको मृत्यु भएको थियो। मे ४ भन्दा अघि र पछि कोरोना मृत्यु हालसम्म पनि शून्य नै रहेको छ। तर पछिल्लो समय विगत एक महिनादेखि माथि उल्लेख गरिएजस्तै विश्व र दक्षिण एसियामा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बढ्दै गएको प्रवृत्ति देखिएको छ।

चित्र नं. २ ले नेपालको विगत करिब डेढ महिनादेखिको दैनिक कोरोना परीक्षण र कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै करिब एक डेढ महिना अघिसम्म नेपालमा कोरोना संक्रमण निकै न्यून थियो। त्यतिबेला कोरोना परीक्षण पनि प्रशस्तै गरिने गरिन्थ्यो। यस लेखको तथ्यांक नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बुलेटिनबाट लिइएको हो र यस लेखमा कोरोना परीक्षण भन्नाले पीसीआरलाई मात्रै गन्ती गरिएको छ।

नेपालमा असारको सुरुवातीसँगै कोरोना संक्रमणमा वृद्धि हुँदै गएको प्रवृत्ति देखिन्छ जुन हाल पनि निरन्तर रहेको छ। तर संक्रमणको अनुपातमा परीक्षण पनि बढाउँदै लगिनुपर्नेमा हाल परीक्षण निकै न्यून गरिएको छ। यसले हाल नेपालमा कन्ट्याक्ट ट्रेसिंग गरिएको छैन भन्ने बुझाउँदछ। यसले के पनि देखाउँदछ भने यदि पर्याप्त परीक्षण गरी कन्ट्याक्ट ट्रेसिंग गर्ने हो भने नेपालमा वास्तविक संक्रमण हाल देखिएकोभन्दा निकै धेरै हुने निश्चित छ।

चित्र नं. ३ ले विगत करिब डेढ महिनादेखिको नेपालको दैनिक कोरोना संक्रमण संख्या र दैनिक कोरोना संक्रमण दर अर्थात् पोजिटिभिटी दरको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै करिब एक डेढ महिना अघिसम्म नेपालमा कोरोना संक्रमण र संक्रमण दर निकै न्यून थियो। असार महिनाको सुरुवातीसँगै कोरोना संक्रमणमा तीव्र वृद्धि भएको देखिन्छ। दैनिक नयाँ कोरोना संक्रमण संख्या असारभन्दा अगाडि औसतमा १० भन्दा कम थियो भने तत्पश्चात् संक्रमण हरेक दिन गुणात्मक वृद्धि हुँदै गई हाल करिब डेढसय पुगेको छ।

संक्रमणको कुरा गर्दा केवल संख्या मात्रैको त्यति महत्व हुँदैन जबसम्म परीक्षण संख्या थाहा हुँदैन। कति परीक्षणमा कति संक्रमण देखियो त्यो अझै अर्थपूर्ण मात्रै नभई वैज्ञानिक पनि हुन्छ। त्यसलाई संक्रमण दर अर्थात् पोजिटिभिटी भनिन्छ जुन प्रतिशतमा निकालिन्छ। अर्थात् १०० परीक्षणमध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो, त्यसलाई पोजिटिभिटी (संक्रमण दर) भनिन्छ।

महाव्याधिको मापदण्डहरूमध्ये यो एक सबैभन्दा भरपर्दो मापन तरिका हो। एक महिना अघिसम्म औसतमा करिब ०.५ प्रतिशतभन्दा कम रहेको नेपालको कोरोना संक्रमण दर हाल करिब ८ प्रतिशत पुगेको छ जुन जनस्वास्थ्यको हिसाबले एक चिन्ताजनक अवस्था हो।

संक्षेपमा भन्ने हो भने विगत करिब डेढ महिनादेखि विश्वमा फेरि कोरोना संक्रमणको नयाँ लहर देखिएको छ। यसरी संक्रमण बढ्ने क्रम बढ्दो प्रवृत्तिको देखिएको छ। पछिल्लो समय विश्वका अधिकांश महादेश र क्षेत्रहरूमा कोरोना संक्रमण बढ्दै गएको देखिएको छ। त्यस्तै दक्षिण एसियामा पनि पछिल्लो समय कोरोना संक्रमणमा वृद्धि भएको छ जुन यस क्षेत्रका अधिकांश देशमा देखिएको छ।

यस्तो अवस्थामा नेपाल पनि अछुतो रहन सक्ने कुरा भएन र फलस्वरूप हाल नेपालमा पनि संक्रमण र संक्रमण दरमा तीव्र वृद्धि भएको देखिएको छ।

विगतका महाव्याधि लहरहरूमा विश्व र नेपालले भोग्नु परेको जनधनको क्षतिबाट पाठ सिकी नेपाल सरकार र यसका सम्बन्धित निकायहरूले समयमै कोरोना संक्रमण र महाव्याधिको नियन्त्रणमा ध्यान दिनुपर्ने देखिन्छ।

महाव्याधिकालमा कोरोना संक्रमण कहाँ कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन। जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्दछ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती हुन सक्दछ।

तथ्यांकले जेसुकै देखाए पनि महाव्याधिको यथार्थलाई एकपटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइका साथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरूमा संक्रमण फेरि बढ्दै गई नयाँ लहर आएको प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिंदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *