प्रधानमन्त्री देउवासँग लिउले भने- ‘नेपालमा चीनविरोधी कुनै पनि गतिविधि नहोस्’

0Shares

प्रधानमन्त्री देउवासँग लिउले भने- ‘नेपालमा चीनविरोधी कुनै पनि गतिविधि नहोस्’


प्रधानमन्त्री देउवाको जवाफ- ‘नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, दलाई लामाको कार्यालय मैले नै बन्द गराएको हुँ’

काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गरेका छन् । उनले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै बालुवाटार र सिंहदरबारमा भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारेका हुन् ।  

दुवै भेटवार्तामा उपस्थित कुटनीतिज्ञ तथा देउवाका अघिल्लो कार्यकालमा परराष्ट्र सल्लाहकार रहेका दिनेस भट्टराईले सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको बताएको जानकारी दिए ।

‘नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नपाओस्,’ लिउनलाई उदृत गर्दै भट्टराईले भने ।

भट्टराईका अनुसार कांग्रेस सभापति तथा प्रधानमन्त्री देउव र परराष्ट्र मन्त्री खड्काले ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालमा कुनै पनि चीन विरोध गतिविधि हुन दिन्नौं’ भन्दै लिउलाई आश्वस्त पारेका थिए ।

प्रधानमन्त्री देउवाले लिउलाई आफूले नै नेपालमा रहेको दलाई लामाको कार्यालयलाई बन्द गराएको स्मरण गराएका थिए । देउवाले लाजिम्पाटमा रहेको दलाई लामाको नेपालस्थित कार्यालय बन्द गराएका थिए । जवाफमा लिउले त्यसको लागि देउवालाई विषेश धन्यवाद दिएर उक्त निर्णयको प्रशंसा गरे ।

भट्टराईले देउवासँग सरकारभन्दा पनि पार्टीको रुपमा बढी कुराकानी भएको बताए । लिउले आफू विशेष गरि पार्टी-पार्टी सम्बन्धलाई जोड दिन चाहेको बताएका थिए । उनले त्रिभुनव विमानस्थलमा कांग्रेस, एमाले र माओवादी केन्द्रको तर्फबाट आफूलाई भएको स्वागतको बारेमा पनि संवादमा प्रशंसा गरे । उनले नेपालमा चीनको मामिलालाई लिएर सबै पार्टीहरु बीचमा एकै धारणा र विचार पाउँदा आफूलाई खुसी लागेको बताएका थिए । लिउलाई स्वागत गर्न कांग्रेसबाट दिनेश भट्टराई, एमालेबाट राजन भट्टराई, माओवादीबाट सुरेन्द्र कार्की विमानस्थल पुगेका थिए ।

‘पार्टीहरुबीचको चीन मामिलामा एकता देखेर हामी उत्साहित छौं,’ लिउले भनेका थिए । लिउले अहिलेको विश्वपरिस्थिती, अहिलेको तरल अवस्था, अलमल र अस्थिर रहेको बारेमा बताएको भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले नेपाल असंलग्न राष्ट्र रहेको र कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने बारेमा प्रष्ट पारेको भट्टराईले बताए । परराष्ट्रमन्त्री खड्काले ‘नेपाल र चीनको फ्रेन्डसीप एकदम महत्वपूर्ण रहेको बताएका थिए । ‘यो मित्रतालाई कायम राख्न चाहन्छौं र अघि बढाउन चाहन्छौं,’ खड्काको भनाई थियो ।

नेपालको तीन दिने भ्रमणमा आएका लिउलाई आइतबार बेलुकी परराष्ट्र मन्त्री खड्काले रात्रीभोज दिँदैछन् छन् ।विदेश विभाग प्रमुख लिउले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि उनीले सोमबारै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने छन् । उनले माओवादी केन्द्रका अध्यक्ष दाहाल तथा नेकपा एसका अध्यक्ष नेपाल र पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई होटलमा भेट्ने कार्यक्रम रहेको छ । तर कुन होटलमा भेट्ने भन्ने बारेमा सार्वजनिक गरिएको छैन ।

लिउले मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यसपछि उनको माओवादीका नेता उमेश स्थापितलाई पनि भेट्ने कार्यक्रम छ । लिउ बुधबार बेइजिङ फर्कने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *