दोलखाका १४२३ उम्मेदवार मध्ये ९२ जनाले मात्रै बुझाए खर्च बिवरण

0Shares

चरिकोट – दोलखामा स्थानीय तहको निर्वाचन लडेका अधिकांस उम्मेदवारले खर्चको बिवरण पेश गरेका छैनन् । निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्दासमेत उम्मेदवारहरुले निर्वाचनमा भएको खर्चको बिवरण नबुझाएका हुन् । जिल्ला निर्वाचन कार्यालयले बिभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई मतपरिणाम घोषणा भएको एक महिनाभित्र निर्वाचनका क्रममा भएको सम्पूर्ण खर्चको बिवरण बुझाउन आग्रह गरेको थियो ।

गत बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा जिल्लामा १ हजार ४ सय २३ जनाले बिभिन्न पदमा उम्मेदवारी दिएका थिए । तीमध्ये हालसम्म ९२ जनाले मात्रै खर्चको विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाकी प्रमुख सकुन्तला राईले जानकारी दिईन् । राईका अनुसार बाँकी १ हजार ३ सय ३० जना उम्मेदवारले निर्वाचन खर्चको विवरण नबुझाएका हुन् । 

स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले दोलखामा आयोगले तोकेभन्दा अत्याधिक खर्च गरेको गुनासो छ । आयोगले नगर प्रमुख  र उपप्रमुखले ४ लाख ५० हजार, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने सिमा तोकेको थियो ।  

निर्वाचन कार्यालयका अनुसार तोकिएको अवधिमा खर्च विवरण पेश नगर्ने राजनितिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोेगद्धारा निर्धारित खर्चको हदमध्ये जुन बढि हुन्छ सोही बराबरको रकम जरिवाना हुने जनाएको छ । त्यस्तै राजनितिक दल वा उम्मेदवारले आफनो नियम भन्दा बाहिर गएर खर्च गरेमा पाँच लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । 

उक्त जरिवाना ६ महिनासम्म नबुझाउने राजनितिक दल वा उम्मेदवारलाई आयोगले तत्कालै लागु हुनेगरी बढिमा ६ बर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा  उम्मेदवार हुन आयोग्य घोषित गर्ने र निर्वाचित जनप्रतिनिधिको हकमा पद खारेजसम्म हुनसक्नेछ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *