हर्कराज राई अ रेभुलुसन : मेयर बनेका एक आममान्छे

0Shares
हार्दिक शुभकामना हर्क साम्पङ ज्यु

काठमाडौं । भ्रष्टचार र बेथितीविरुद्ध निरन्तर बोल्ने जनताको जनजीविकाको सानो-सानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई मतदाताले विश्वास गरेको हर्कराज राई बताउँछन् । ‘मैले ठूलो मुद्दा उठाएको होइन, जनताको जनजिविकाको विषयमा आवाज उठाएको हो, जनतालाई ठूलो कुरा चाहिएको पनि होइन रहेछ,’ हर्कले भनेका छन्, ‘खानेपानीको बिषय उठाए, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोले, सुकुम्बासी संरक्षण र व्यवस्थानबारे बोले, सडकको खाल्डाखुल्डी, महंगी नियन्त्रणबारे पनि आवाज उठाए, त्यसैले जनताले मलाई नियालिरहनुभएको रहेछ ।’

खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हर्कले शुक्रबारे माविबाट एसएलसी उत्तिर्ण गरेका हुन् । उच्च शिक्षा अध्ययनको लागि २०५५ सालतिर धरान झरेका हर्कले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् ।

हर्क पूर्वब्रिटिश लाहुरेका छोरा हुन् । केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए, र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए । हर्क गीतसँगीतमा पनि रुची राख्छन् । उनले एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एल्बम पनि निकालेका छन् ।

सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठीबास लगाउने भएपछि संघर्ष समिति बन्यो । त्यो समतिमा सहसंयोजक बने । धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बनेपछि नै हर्क धरानको सामाजिक मुद्दाहरुमा आवाज थालेका थिए ।

हर्कले स्थानीय मुद्दा मात्र नभई सिमा अतिक्रमण र एमसिसिविरुद्ध पनि एक्लै प्रर्दशनमा हिँड्थे, कहिले सिमित संख्यामा आफ्नो समर्थकहरुको साथमा विरोध प्रर्दशन गर्थे । हर्कले सिमा अतिक्रमणको मुद्दा चर्किदा इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना अघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाउ भन्दै प्रर्दशनसमेत गरेका थिए ।

सर्दु खोला जथाभावी उत्खनन् भएको विरोधमा जादा ठेकेदारको समुहले उनका समर्थकहरुलाई आक्रमण गरेर घाइतेसमेत बनाएको थियो । पछि प्रहरीले उल्टै उनी र उनका साथीहरुलाई मुद्दा चलायो । खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउ समेत परे ।

हर्क आफुले जे गर्छन्, आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्नै गरेका छन् । धरान र विदेशमा रहेका हजारौं मानिस उनीसँग त्यसरी जोडिएका छन् । उनले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाएनन्, तर, फेसबुकबाट नै चुनावी अभियान गरेका थिए ।

आफ्नो शक्तिको स्रोत निष्ठा र निरन्तरता भएको बताउने हर्क २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए । त्यसबेला हर्कले ४२२ मत पाएका थिए । त्यसबेला पनि धरानेहरुले परिवर्तनको पक्षमा भोट दिँदै कम्युनिष्ट गढमा पहिलो पटक कांग्रेसका उम्मेद्ववार तिलक राईलाई जिताए ।

कम्युनिष्टले जित्दै आएको धरानमा कांग्रेसलाई जिताउदा पनि अपेक्षाकृत काम हुन नसक्दा निराश धरानेले यो पटक भने हर्कलाई विश्वास गरेर मत दिएका छन् ।

‘राजनीतिक दलहरुले धेरै लापरवाही गरे। खानेपानी माग्न जादा प्रहरी लगाउने, मुद्दा लगाउने गरेपछि जनतामा वितृष्णा बढेर गयो । जनप्रतिनिधिहरु जो सत्तामा पुगेपनि दुरुपयोग गरे, र चुनावी मैदानमा मैले टक्कर दिने स्थिति बन्यो,’ हर्क भन्छन् ।

उपनिर्वाचनमा हारेँ पनि हर्क सँधै जनताको माझमा थिए । टोलटोलमा समस्याहरु बुझ्दै हिँडिरहे, अहिले त्यहि निष्ठा देखेर आफुलाई धराने जनताले विश्वास गरेर भोट दिएको हर्क सुनाउँछन् ।

धरानमा निरन्तर खानेपानीको मुद्दा उठाइरहने हर्क आफु मेयरमा निवार्चित भएमा खानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने काम प्राथमिकता दिने बताउँदै आएका छन् ।

अन्ततः धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज निर्वाचित भएका छन् । उनले २० हजार ८२१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राई १६ हजार ५९ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ४ हजार ७ सय ६२ छ ।

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भए । उनले २० हजार ५१० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम लिम्बूले १७६०६ मत पाएका छन् ।

प्रतिक्रियासबै

Leave a Reply

Your email address will not be published. Required fields are marked *